काठमाडौं: नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति)का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिसम्बन्धी विवरणमा आशंका गर्ने ठाउँ नरहेको बताए।
रथी सिग्देलले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पहिलोपटक लिएको नागरिकता र ‘प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे।
रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी)को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी)मा जन्ममिति २०२३ माघ १९ उल्लेख छ। यस्तै, विसं २०४३ भदौ १२ गते तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय)बाट जारी भएको प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख रहेको सेनाले जनाएको छ। रथी सिग्देलले नेपाली सेनामा भर्ना हुँदा सोही नागरिकता र प्रमाणपत्र पेस गरेको सहायक रथी केसीले जानकारी दिए।
नागरिकता प्रमाणपत्रमा उल्लेख उमेर (वर्ष) र शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्ममितिमध्ये कुनलाई मान्यता दिने भन्नेसम्बन्धी छुट्टै कानुनी व्यवस्था रहेको उनले जानकारी गराए। “कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्ने” व्यवस्था रहेको उनले स्पष्ट पारे।