काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले महिलाहरुलाई सार्वजनिक ठाउँमा बुर्का लगाउन उर्दी जारी गरेको छ ।
तालिबानले सार्वजनिक स्थानमा सबै महिलाहरूलाई अनुहार ढाक्ने पहिरन लगाउन निर्देशन दिएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।
यसबाहेक तालिबानले महिलाहरूलाई लामो दूरीको एक्लै यात्रा गर्ने अधिकारबाट समेत बञ्चित गरेको जनाइएको छ । यस्तै, तालिबानले महिलाहरूलाई स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गर्न पनि बन्देज लगाएको गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।
महिलाहरूले बुर्का लगाउने नियम कार्यान्वयनको जिम्मा भने उनै महिलाका अभिभावक, नातेदार वा रोजगारदातालाई दिइएको बताइएको छ ।
कोही महिलाले सार्वजनिक स्थानमा अनुहार नछोपेको खण्डमा ती महिलाका ‘अभिभावक’ लाई सजाय हुने व्यवस्था राखिएको छ । महिलाहरू घरबाट बाहिर ननिस्किऊन् भन्नाका लागि यस्तो नियम ल्याइएको हो ।
‘अफगानिस्तानका सबै स्वाभिमानी महिलाहरूलाई हिजाब लगाउनु आवश्यक छ र सबैभन्दा राम्रो हिजाब चदोरी हो, जुन हाम्रो संस्कारको एउटा हिस्सा पनि हो ।’ अफगानिस्तानको दुराचार तथा सदाचार मन्त्रालयका अधिकारी शिर मोहम्मदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
‘जति पनि महिलाहरू छन्, जो धेरै बूढा छैनन्, धेरै कलिला पनि छैनन्, उनीहरूले आँखाबाहेक सबै अनुहार छोप्नुपर्छ ।’ उनले भने ।
अनुहारलाई पुरै छोप्ने किसिमको अफगानिस्तानको परम्परागत बुर्कामा आँखाबाट हेर्नका लागि स–साना प्वालहरु मात्र पारिएको हुन्छ ।
यता अफगानिस्तानका मानव अधिकारवादीहरुले भने तालिबानको पछिल्लो कदमको चर्को निन्दा गरेको गार्जियनले जनाएको छ ।