धनगढी : सुदूरपश्चिम प्रदेशमा अध्यादेशमार्फत बजेट ल्याउने सोडारी सरकारको तयारीमा ब्रेक लागेको छ । प्रदेशसभा सचिवालयले मंगलबार २ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेको सूचना प्रकाशित गरेपछि सरकारले तयारी गरेको अध्यादेश अब थन्किने भएको छ ।
असार १ गते आएको बजेट असार मसान्तसम्म पनि पारित नभएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको थियो । २० गते एमालेले समर्थन फिर्ता लिएर तीन मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो ।
अल्पमतको सरकारले बजेट ल्याउँदा पारित नहुने भएपछि मुख्यमन्त्री सोडारीले ३० गतेसम्म कुनै तयारी गरेनन् । त्यसलगत्तै सरकार बेखर्ची भएपछि अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सभाको बैठक अन्य गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सरकारले सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा बिहीबार राति १२ बजेदेखि लागू हुने गरि प्रदेश प्रमुख मियाँले संसद् अन्त्य गरेका थिए । त्यसपछि सरकारले अध्यादेशको तयारी गरेको थियो ।