धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ।
यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए।
मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
केन्द्रमा नयाँ समिकरणपछि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घवहादुर सोडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्। सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनेका सोडारी चौथो मुख्यमन्त्री हुन्।
केन्द्रमा फेरि नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको नयाँ समिकरण बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन्।
प्रदेश सरकारबाट एमालेले सर्मथन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन्।
अल्पमतमा परेपछि मुख्यमन्त्री सोडारीले राजीनामा दिएनन्। न त उनले सदनबाट विश्वासको मत लिने सुरसार पनि गरेको देखिँदैन।
नेपाली कांग्रेस र एमालेले मुख्यमन्त्रीको राजीनामा मागेका थिए।
प्रदेश प्रमुख नाजिर मियाँले जेठ ८ गते प्रदेश सभाको बैठक आह्वान गरिदिएका छन्।
प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम सुदूरपश्चिम प्रदेश सभाका सम्पूर्ण सदस्यहरूको एक चौथाई भन्दा बढी प्रदेश सभा सदस्यहरूले प्रदेश सभा बैठक आह्वान गर्न वाञ्छनीय रहेको भन्दै लिखित रुपमा अनुरोध गरेका हुन्।
अब मुख्यमन्त्रीमा नियुक्त हुने नेपाली कांग्रेसका शाह संघियतापछि गठन भएको सुदूरपश्चिम सरकारको पाँचौं मुख्यमन्त्री बन्नेछन्।
प्रदेशमा २०७४ सालमा नेकपा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए। उनले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए।
त्यसपछि २०७९ मा सुरूमा नेकपा एमाले र माओवादीविच गठबन्धन भएपछि प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बने।
एमाले र माओवादीविच गठबन्ध टुटेपछि एक महिनामै रावल नेतृत्वको सरकार ढल्यो।
त्यसपछि नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्री बने। कांग्रेस र माओवादी लगायत दलको गठबन्धन टुटेपछि शाह पछि एकीकृत समाजवादी पार्टीका दीर्घ सोडारी मुख्यमन्त्री बने।
अहिले भएको केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनपछि नेपाली कांग्रेसले शाहलाई नै फेरि प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गरिरहेको जनाएको हो।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ।
सरकार बनाउन नेपाली कांग्रेस र एमालेको बहुमत सहजै पुग्छ।