काठमाडौं: तत्कालीन गृहमन्त्री रवि लामिछाने घर गएर नयाँ गृहमन्त्रीको रुपमा नेपाली काँग्रेसका रमेश लेखक आएपछि प्रहरीमा पनि विभिन्न परिवर्तनहरु भैरहेका छन्। आएकै दिनदेखि गृहमन्त्री लेखकले धमाधम काज सरुवा गरिरहेका छन्। उनले अहिलेसम्म विभिन्न स्थानमा पार्टी निकट इन्सपेक्टरदेखि एसपीसम्म काजमा पठाइसकेका छन्।
त्यसकै सिलसिलामा उनले अब केही एसएसपी, डिआईजी र एआईजी पनि चलाउने तयारी गरेका छन्। स्रोतका अनुसार गृहले हाल बिशेष ब्यूरोमा कार्यरत डिआईजी डा. मनोज केसी, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी बसन्त रजौरे र सिआइबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई हटाउने तयारी गरेको हो।
उनीहरूको सरुवाको तयारी भइरहेको स्रोतको दाबी छ। यस अगाडि उनीहरूलाई गृहमन्त्री लामिछानेले जिम्मेवारी दिएका थिए।
त्यसबेला उनले परिसरका तत्कालिन प्रमुख एसएसपी भूपेन्द्र खत्रीलाई हटाएर विवादित रजौरेलाई लगेका थिए। रजौरे उनै विवादित अधिकारी हुन्, जसले धनुषा प्रहरीको प्रमुख (एसपी) हुँदा कारबाही भोगेका थिए।
अहिले उनलाई पनि हटाएर लेखकले एसएसपी विश्व अधिकारीलाई पठाउने तयारी गरेको बताइन्छ। उनी हाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।
उता व्युरोका डिआईजी मनोज केसीमाथि बेचन झा प्रकाउ प्रकरणमा चेन अफ कमाण्ड नमानेको आरोप लागेको छ। जस कारण उनलाई विशेष ब्यूरोबाट हटाउन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीसमक्ष प्रस्ताव गरेको स्रोत बताउँछ।
त्यस्तै अर्का विवादित तथा लामिछानेले जिम्मेवारी दिएका सिआईबीका हाकिम एआईजी श्यामलाल ज्ञवालीलाई पनि अहिलेका गृहमन्त्रीले सरुवा गर्ने तयारी थालेका छन्। ज्ञवाली उनै प्रहरी अधिकारी हुन्, जो केही समय अगाडि शैक्षिक प्रमाणपत्र र नागरिकताबारे विवादमा तानिएका थिए।
उनीमाथि शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरेको थियो।
गत चैत १० मा वसन्त कुँवर आईजीपी नियुक्त हुँदा ज्ञवाली पनि दौडमा थिए। तर, विवादित भएपछि उनी स्वतः पछि परेका थिए। पछि गएर सो मुद्दामा उनले सफाई पाएका थिए।त्यसपछि पनि उनीविरुद्ध गृहमन्त्रालय र राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो।
अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दामा फरार रहेका जीवन चलाउनेसँग एआइजी ज्ञवालीको ‘मिलेमतो’ रहेको भन्दै उजुरी परेको हो। सो उजुरी अहिले पनि छानबिनमै छ।