काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेको बताएका छन्।
पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा धारणा राख्दै नेता रावलले यस्तो बताएका हुन् ।
उनले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको बताए।
नेता रावलले भने, ‘एउटा दलले एउटा चिन्ह लिएर जिन्दाबाद भन्छ, त्यसको सिद्धान्त के छ कम्युनिस्टलाई सिद्ध्याउने । अर्को दल कम्युनिस्ट पार्टी भन्छ, त्यो सिद्ध्याउन चाहनेलाई जिन्दाबाद भन्दै मत दिइरहेको हुन्छ । कति आश्चर्य छ । मैले देखेँ नेकपा एमाले जिन्दाबाद भोट केमा हलोमा ? नेपाली कांग्रेस जिन्दाबाद भोट केमा कलममा ? मैले बुझ्न सकिनँ यो राजनीति ।’
कम्युनिस्ट पार्टीलाई सिद्ध्याउनेसँग मिलेर समाजवाद नआउने उनले जिकिर गरे। पुष्पलालले नेपालको स्वाधीनताको पक्षमा उभिएको स्मरण गर्दै आजको नेताहरू विदेशीसामु लम्पसार भएको जिकिर गरे ।
तर, पुष्पलालले आफूहरू स्वतन्त्र देश नेपालका मानिस भएको र देशको आन्दोलनले छुट्टै विशिष्टताको बाटोमा अघि बढ्नुपर्छ भनेको नेता रावलले स्मरण गरे ।