धनगढी : नेपाली प्रहरीले कैलालीको गोदावरी र गौरीगंगा क्षेत्रबाट भन्सार छली गरिएका विभिन्न सामग्री बरामद गरेको छ। बरामद गरिएको सामग्रीको अनुमानित मूल्य १० लाख ६० हजार चार सय बराबरका रहेका छन् ।
प्रहरी टोलीले मिति श्रावण ११ गते गोदावरी नगरपालिका-४ मा राति ९ बजे विभिन्न सामग्रीहरू फेला पारेको थियो। बरामद भएका सामानहरुमा लेडिज कुर्ता, मोटर पार्टस, र हार्डवेयर सामग्रीहरू रहेका छन्, जसको अनुमानित मूल्य ४ लाख ६४ हजार पाँच सय रहेको छ।
त्यस्तै, श्रावण १३ गते गौरीगंगा नगरपालिका-३ कुचैनीबाट अनुमानित मूल्य ५ लाख ८७ हजार पाँच सयका कपडाजन्य सामग्रीहरू बरामद गरेको छ ।
यस्तै आइतबार दिउँसो गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडमा ८ हजार चार सय रुपैयाँको १४० किलो चिनी पनि बरामद गरिएको छ।
सामान बरामदमा सुद्ररपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती तथा इलाका प्रहरी कार्यालय चौमाला समेतबाट प्रहरी टोली खटीएको थियो ।
बरामद गरिएको सामानहरू आवश्यक अनुसन्धानको लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले भन्सार छलीको घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको छ।