धनगढी: नेपालको जासुसी संस्था मानिने प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागको धनगढीमा प्रादेशिक कार्यालय बन्ने भएको छ। धनगढीस्थित विभागको हाल कायम रहेको कार्यालय क्षेत्रमै थप सुविधासम्पन्न प्रादेशिक भवन कार्यालय बन्ने भएको हो।
जसका लागि डीपीआरसमेत भैसकेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अब जासुसहरुको प्रदेश कार्यालय साढे २ तले बन्ने छ। सो प्रक्रिया सोइल टेष्ट भएर डीपीआरसमेत सकाएको अवस्थामा रहेको छ। अब यहीँ आर्थिक वर्षमा निर्माणका लागि टेण्डर आह्वान हुने छ। जसको पूरा लागत ७ करोड अनुमान गरिएको छ।
सो कार्यालय प्रधानमन्त्री कार्यालयको बजेटमा बन्ने लागेको हो। यसपालि मात्र त्यसका लागि ३ करोड २० लाख बढी रकम आएको बताइन्छ।
सो निर्माण बहुवर्षीय ठेक्कामा जानेछ।तत्कालीन अवस्थामा जासुसको क्षेत्रीय कार्यालय दिपायलमा थियो भने सम्पर्क कार्यालय धनगढीमा थियो। त्यसपछि भने अहिले पहिलाको धनगढीस्थित सम्पर्क कार्यालयलाई प्रादेशिक कार्यालय र दिपायलको कार्यालयलाई सम्पर्क कार्यालय बनाइएको छ।
नयाँ बन्ने भवन निर्माण २ वर्षमा सक्ने लक्ष्य छ।