धनगढी : सोमबार राति कैलालीको चिसापानीबाट अपहरणमा परेका गाडीका सह–चालक लोकेन्द्र चौधरी अपहारकारीबाट फुत्किएर घर पुगेका छन् ।
राति करिब १० बजेबाट उनलाई केही युवाहरूले आफूसँगै लगेका थिए । मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट बेपत्ता पारिएका चौधरी केही बेर अघि आफै घर पुगेका छन् ।
उनका अनुसार बिहान करिब ५ः३० बजे उनी ती युवाबाट फुत्किएका हुन् । ‘मलाई दुई जनाले नियन्त्रणमा लिइरहेका थिए ,एक जना भाग्न साधन खोज्न लागे अर्कोलाई तिर्खा लाग्यो भनेर पानी खोज्न जाँदा म उनीहरुको आँखा छलेर फुत्किए’ उनले प्रहरीलाई सुनाए ।
सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीमा सवारी धनी राम चौधरी, चालक अनुराग चौधरी, सहचालक लोकेन्द्र चौधरी र अर्का एक जना मीन माझी थिए । उनीहरूलाई कुटपिट गर्दै केही युवाहरूले सहचालकलाई सँगै लिएर गएका थिए ।
ती मध्येका एक जना सोमबार राति नै पक्राउ परिसकेका थिए भने,अर्का एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । आफूसँगका दुई जना पक्राउ परेपछि उनीहरु त्रसित बनेका थिए ।
‘उनीहरु भागेर नेपालगन्ज जानको लागि गाडी खोजिरहेको र त्यहिबेला पानी खाने बाहानमा आँखा सहचालक भागेर आएको देखिन्छ’ इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले भने, ‘अहिले हामी थप बुझिरहेका छौँ ।’
गाडी धनी राजु चौधरीका अनुसार सहचालक करिब १० घण्टाको पैदल हिँडेर घर पुगेका हुन् । ‘उनी बिहानै फुत्किएर जङ्गलै जङ्गल हुँदै यहाँसम्म पुगे, ‘उनले भने, जङ्गलको बाटो हिँडेर खुट्टाका छालाहरू उक्किएका छन् । हामी प्रहरीकहाँ जाँदै छौँ ।’
उनले सहचालक आए पनि आफ्नो २ लाख रुपैयाँ, मोबाइल र गाडीको चापी फेला नपरेको बताए ।
कसरी परे अपहरणमा ?
सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो। सोही गाडीका सह–चालक लम्की चुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई चार्पाँच जना युवाको समूहले आफूसँगै लिएर गएको गाडी धनी राम चौधरीले बताए ।
‘हामी सोल्टाबाट पसलको पैसा उठाउँदै आइरहेका थियौँ । पितमारी पुग्नै लाग्दा चार्पाँच जनाले बाटो रोक्नु भयो र ढुङ्गा प्रहार गर्न लाग्नु भयो’उनले भने, ‘गाडीको सिसा फुट्यो मलाई चाकललाई र सहचालकलाई चोट लाग्यो । ’
केही विवाद भएपछि यी युवाहरूले नै अब प्रहरी आउँछ सबैलाई समात्छ भागौँ भनेको र आफूहरू केही पुगेर फर्किएको तर, सहचालकलाई उनीहरुले लिएको गएको उनले बताए ।
गाडीमा गाडीमा सवारी धनी, राम चौधरी, चालक अनुराग चौधरी, सहचालक लोकेन्द्र चौधरी र अर्का एक जना मीन माझी समेत रहेका थिए । युवाहरूसँग उनीहरुको विवाद हुन थालेपछि माझिले प्रहरीलाई फोन गरे ।
‘उहाँले (माझिले) प्रहरीलाई फोन गरेको कबिर १५मिनेटपछि प्रहरी पुगिसक्नु भएको थियो ’ उनले भने ‘तर, त्यसपछि लोकेन्द्र भेटिनु भएन अहिले पनि खोजि भइरहेको छ । ’
उनीहरुको ढुङ्गा प्रहारबाट चालक अनुरागको टाउकोमा चोट लागेको छ । उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । गाडी धनी राम चौधरीलाई पनि ढुङ्गा प्रहार भएको छ । आफ्नो लम्कीमा राम लक्ष्मण किराना पसल रहेको र सोल्टाबाट त्यहि पसलको वाकी पैसा उठाउँदै आएको उनले बताए । आफूसँग रहेको करिब २ लाख रकम पनि अहिले आफूसँग नरहेको उनले बताए । इलाका प्रहरी कार्यालयमा दिएको उजुरीमा पनि उनले २ लाख रकम लुटिएको बताएका छन् । सोमबार राति पनि उनले प्रहरी टोलीसँग आफ्नो २ वटा मोबाइल उनीहरुले लगेको र स्विच अफ गरेको बताएका थिए ।
प्रहरीका अनुसार ती युवाहरू मापसे गरेर बसेका थिए । गाडी आएपछि त्यसलाई रोक्दै एक जनाले सोध्छन्, ‘गाडीमा के छ ?’
गाडी भित्र रहेका एक जनाले जवाफ दिन्छन्, ‘सामान्य दाउरा छ ’
‘छुट पुर्जी छ । अवैध काठ ल्याउने ’ ती युवाले हपार्छन् ।
त्यसपछि विवाद भएको र केहीले ढुङ्गा प्रहार गरेको केहीले हातपात गरेको प्रहरीको भनाइ छ ।
प्रहरीलाई खबर भइसकेको जानकारी पाएपछि ती युवाहरू मध्येकाले भन्छन् ‘अब पुलिस आउँछ । तिमीहरूलाई पनि समात्छ हामीलाई पनि, भागौँ ।’
चालक र साउँ केही पर पुगेर फर्किन्छन् । सहचालकलाई उनीहरुले सँगै लिएर जान्छन् ।
सोमवार राति नै एक जनालाई र मंगलबार थप एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।