धनगढी : काँग्रेस एमाले सहितका दलहरुको नयाँ सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश काँग्रेसको भागमा परेको छ। सुदूरपश्चिममा शुक्रबारपछि काँग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नेछ। अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने घोषणा गरिसकेका छन्।
तर नेपाली काँग्रेसमा अब बन्ने मुख्यमन्त्रीको टुंगो भने लागि सकेको छैन। मुख्यमन्त्रीको लागि मुख्यतः तीन जना नेताको दौड देखिएको छ। जसमा बहादुर सिहं थापा, प्रकाश देउवा र कमलबहादुर शाह रहेका छन्।
संसदीय दलका नेतासमेत रहेका कमलबहादुरले झण्डै १४ महिना सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालिसकेका छन्। शाह पुनः मुख्यमन्त्री बन्ने दौडमा भएपनि उनलाई पार्टी नेतृत्वले दोस्रोपटक जिम्मेवारी दिने छाँट देखिएको छैन।
१४ महिने कार्यकालमा शाहले प्रदेशमा विकासको गतीलाई तिब्रता दिन नसकेको आरोप छ भने उनि बेलाबखत विवादित पनि बन्दै आइरहेका थिए। यहीँ कारण कमलबहादुर मुख्यमन्त्री हुने दौडको पुछारमा छन्।
मुख्यमन्त्री दौडको पहिलो नम्बरमा रहेका बहादुरसिहं थापा जोडतोडका साथ लबिङमा लागेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित बहादुरसिहं प्रदेश सभामा कांग्रेसभित्र सिनियर नेता हुन्।
देउवा निकट बहादुरसिहं ४७ बर्षदेखि निरन्तर काँग्रेसको राजनीति गर्दै आएका नेता हुन्। उनले ०४७ देखि निरन्तर तीन कार्यकाल ०७२ सम्म नेपाली काँग्रेस कञ्चनपुरको पाटी सभापति भई जिल्लाकै नेतृत्व गरिसकेका छन्।
प्रदेशको निर्वाचन लगत्तै, त्यतीबेला संसदीय दलको नेताका लागि जबरजस्त दाबी गरेका बहादुरसिहं पार्टी सभापतीकै निर्देशन अनुसार चुप बसेका थिए। ‘म त्यतीबेला पनि संसदीय दलको नेताको दाबेदार हुँ। पार्टी सभापती ज्युले मलाई बस्न भनेपछि मैले उहाँको निर्देशनको पालना गरेको हुँ। यसपाली मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ’, उनले भने।
उनी एनपी साउद निकट मानिन्छन्। साउदले संघमा मन्त्री नपाएपछि पार्टी सभापती देउवासँग उनले थापालाई मुख्यमन्त्री बनाउन लबिईङ गरेको बताईन्छ। ‘पार्टीको ब्यालेन्स मिलाउन पनि मुख्यमन्त्रीमा थापाको दाबी पुग्छ’ एकजना काँग्रेस नेताले भने। ‘अग्रास पलाएन भने संसदीय दलको नेतामा थापाको बमुमत पुग्छ।’
तर देउवा समुहकै केही नेताहरुले भने सुदूरपश्चिममा प्रकाशबहादुर देउवालाई मुख्यमन्त्रीको लागि अगाडी सारेको चर्चा छ। पूर्व भौतिक पुर्वाधार मन्त्री रहेका देउवाले प्रदेशमा उत्कृष्ट काम गरेको र पार्टीभित्र सन्तुलन मिलाउन समेत सक्ने भएको भन्दै देउवालाई मुख्यमन्त्री बनाउन लबिईङ गरिरहेका छन्।
उसो त कमलबहादुरले आफु मुख्यमन्त्री नबन्ने देखेपछि उनले पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवालाई अगाडि सारेको समेत बुझिएको छ। ‘कमल बहादुर शाहले आफु मुख्यमन्त्री नबन्ने देखेपछि, उनले देउवालाई अगाडि सार्न सक्छन्’, स्रोत भन्छ।
तर देउवाले भने यस बारेमा कुनै छलफल नै सुरु नभएको बताए। ‘अहिले नै मुख्यमन्त्री को बन्ने भन्ने कुराको टुंगो लागि सकेको छैन। पार्टी सभापतीले यसबारेमा हामीहरुलाई बोलाउनु नै भएको छैन। उहाँले बोलाउनु होला, निर्देशन दिनुहोला। मुख्यमन्त्री बनाउने कुरा पार्टी केन्द्रले नै गर्छ’, उनले भने। ‘अहिले बाहिर आएका धेरै कुरा हल्ला मात्र हुन्।’