धनगढी : धनगढीको नेपाल वेस्टर्न कलेज र युनिग्लोबल कलेज काठमाडौंबीच सहकार्यको सम्झौता भएको छ ।
पोखरा विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त यी दुई कलेजहरूबीच छात्रवृत्ति, अनुसन्धान, र विद्यार्थीलक्षित कार्यक्रमहरूमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो।
सम्झौताअनुसार, दुवै कलेजका विद्यार्थीहरूले एक-अर्काको कलेजमा अध्ययन र संकाय परिवर्तन गर्न पाउनेछन्। साथै, पाठ्यक्रममा समानता राख्ने प्रयास गरिनेछ।
युनिग्लोबल कलेजले हरेक वर्ष १२ ओटा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने एकमात्र शैक्षिक संस्था रहेको प्रमुख डा. नरबहादुर बिष्टले बताए ।
यस कलेजले विदेशबाट प्राध्यापकहरू आमन्त्रित गरेर विद्यार्थीहरूलाई उद्यमशीलता र विदेश अध्ययन-अनुसन्धानमा सहभागी गराउँदै आएको उनले बताए।
नेपाल वेस्टर्न कलेज धनगढीबाट मास्टर्स स्तरको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने बिष्टले जानकारी दिए ।
यस सम्झौताले विद्यार्थीहरूलाई अध्ययन र पेशागत विकासको लागि नवीन अवसरहरू प्रदान गर्ने वेस्टर्न कलेज धनगढीका निर्देशक शैलेसकुमार सिंहले बताए ।