धनगढी : पछिल्लो समय अछाम प्रहरीले अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी गर्ने कार्य तीब्र पारेको छ । मातहत प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरी टोलीले चौरपाटी गाउँपालिका ६ दुनीमा गाँजाका बोटहरु फडानी गरेको हो ।
मंगलबार र बुधबार चौखुट्टेबाट खटिएको प्रहरी टोलीले करिब १३ हजार गाँजाका बोटहरु फडानी गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछाम प्रहरीका अनुसार मंगलबार वडा अध्यक्ष डबल बहादुर खड्का र प्रहरीको टोलीलले दुनीमा अवैध रुपमा उत्पादन गरेको गाँजाखेती फडानी गरेको हो ।
यस्तै बुधबार पनि चौखुट्टेबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा उत्पादन गरेको गाँजाका करिब साढे सात हजार बोटहरु फडानी गरिएको प्रहरीले जनाएको छ । तर स्थानीयले भने चर्को विरोध गर्न थालेका छन् ।
उनीहरुले वर्षौदेखि स्थानीयले गर्दै आएको भाँगो अर्थात् गाँजा खेती प्रहरीले छापामार शैलीमा नष्ट गरेको भन्दै विरोध गरेका छन् ।
उनीहरुले जनप्रतिनिधिलाई प्रशासनसँग समन्वय गर्न आग्रह गरिरहेका छन् । प्रहरीको सो कदमको सामाजिक सञ्जाल लगायतका विभिन्न ठाउँमा चर्को आवाज उठिरहेको छ ।