धनगढी : कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
बुधबार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका-११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले मृतकको झोलामा भेटिएको पासपोर्ट साईजको फोटोका आधारमा उनको पहिचान भएको बताए ।
“झोलामा भेटिएको पासपोर्ट साईजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ । त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो,” एसपी बिष्टले भने, “अनुसन्धान गर्दै जादा माइती जान हिडेकी रहिछन् । अटो चालकले गेटाबाट भित्र रोड लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।”
मृतक महिला धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान सुपप्र ०१००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् ।
मापसे गरेको अवस्थामा रिक्सा चलाइरहेका चालक गोदावरी नगरपालिका-५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले गेटामा पुग्दा तीब्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए ।
सोही क्रममा आत्तिएर उनले हाम फालेकी थिइन् । अटो चालक र अटोमा सवार उनक साला २३ वर्षीय कालु दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।
महिलाले अटोबाट हाम फालेपछि फसिने डरले बयान उनीहरूले दिएका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।