काठमाडौं: काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन्।
मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।
शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा उनीहरु १५ साउनदेखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। सोही क्रममा आज शुक्रबार १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
उनीहरू शुक्रबार काठमाडौं महानगरपालिका-९, शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा मृत भेटिएका हुन्। प्रहरीले ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूषको झुण्डिएको अवस्थामा शव फेला परेको बताइन्छ।