धनगढी : कञ्चनपुरको पुनर्वास जनता माध्यमिक विद्यालयमा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सम्पन्न भएको छ। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले उद्घाटन गरेका हुन् । सो भवन तीन तला र १२ कोठाको छ।
उद्घाटन समारोहमा वडाध्यक्ष मित्र सिंह लामाले शैक्षिक सुधारका १० र २० वर्षीय योजनाहरु ल्याउनुपर्ने बताउँदै विद्यालयमा अनुशासनको महत्त्वमा जोड दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर सायरले नगरपालिका र नेपाल सरकारको सहयोगको प्रशंसा गरे।
प्रविधिक रेखदेखमा बनेको भवनले विद्यालयको समग्र विकासमा योगदान दिने शिक्षा शाखा अधिकृत शिवराज भटृले बताए। प्रमुख अतिथि नगर प्रमुख शर्माले विद्यालयको शैक्षिक र भौतिक स्तर उकास्न एकताबद्ध प्रयासको आवश्यकता रहेको औंल्याए।
प्रधानाध्यापक मान बहादुर तामाङले भवन निर्माणमा १ करोड १० लाख रुपैयाँ लागत लागेको जानकारी गराउँदै भवन निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गरेकामा प्रमाणपत्र प्रदान गरे। उद्घाटन कार्यक्रममा आठ शिक्षकलाई ल्यापटप समेत वितरण गरिएको थियो।