धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह दोहोरिने भएका छन । आज (आइतबार) बिहान ११ बजे बस्ने कांग्रेस प्रदेश संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गर्नेछ ।
पार्टी सभापति शेरबहादुर देउवाले अहिले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरुलाई निर्देशन दिएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।
कांग्रेसको शिर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले आजै मुख्यमन्त्री दाबी पेश गर्ने छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा थिए तर उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन् ।
यो सँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन् । राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।