धनगढी: सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री ओम विक्रम भाट ‘सरल’ले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कठोर रूपमा आलोचना गरेका छन्।
सोमबार प्रदेशसभा बैठकमा बोल्दै उनले हालको सरकार ‘भ्रष्टाचारको संरक्षण गर्न गठित गठबन्धन’ भएको आरोप लगाए।
भाटले सरकारको नीति तथा कार्यक्रम सतही, असन्तुलित र जनअपेक्षाविपरीत भएको टिप्पणी गर्दै प्रश्न उठाए—”यहाँ नीति कार्यक्रम संसद्मा छलफल हुँदैछ, तर कार्यक्रमहरू होटलमा बनिरहेका छन् भन्ने सुनिन्छ। यदि यो सही हो भने संसदको अपमान होइन र?”
सरकारको गठबन्धनप्रति प्रश्न
सरलले सरकार गठनकै उद्देश्यमै प्रश्न उठाए। उनले भने, “संघमा जस्तै यहाँ पनि एमाले-कांग्रेस गठबन्धन विचौलियाको स्वार्थमा बनेको हो, विचार र मूल्यका लागि होइन।” उनले सरकार गठन कुनै पवित्र उद्देश्यले नभएको दाबी गर्दै सरकार ‘संख्याको दम्भमा’ चलिरहेको र लोकतान्त्रिक विधि र प्रक्रियाको उपहास भइरहेको टिप्पणी गरे।
भ्रष्टाचार प्रकरणमा प्रत्यक्ष आरोप
सरलले प्रदेशमा एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका अडियो र भ्रष्टाचारको आरोपहरूको उचित छानबिन नहुनुमा सत्ता पक्षमात्र नभई प्रतिपक्ष पनि मौन रहेको आरोप लगाए। “सरकारका गतिविधिमा बोल्दा योजना काटिएला भन्ने डर छ, बजेट नआउला भन्ने त्रास छ, त्यसैले प्रतिपक्ष पनि नपुगेको हो,” उनले भने।
उनले प्रदेशमा ‘योजना बेच्ने’को बदनाम बढ्दै गएको दाबी गर्दै प्रश्न गरे, “यदि सरकार शुद्ध छ भने संसदीय छानबिन समिति किन गठन भएन?”
मुख्यमन्त्रीको प्रतिरक्षामा सत्तारूढ सांसदहरू उत्रिएको आरोप
सरलले मुख्यमन्त्री कमल शाहको आलोचना गर्दा व्यक्तिगत दुश्मनी नभएको स्पष्ट गर्दै भने, “म कमल शाह व्यक्ति होइन, मुख्यमन्त्रीको हैसियतमा प्रश्न गरिरहेको छु।” उनले शाहको बचाउमा सत्तारूढ सांसदहरू ‘साफसफाइको सर्टिफिकेट वितरण’मा लागेको आरोप पनि लगाए।
साहित्यिक शैलीमा सरकारको आलोचना
भाटले चर्चित साहित्यिक सन्दर्भहरू समेत उल्लेख गर्दै सरकारको शैलीमाथि व्यंग्य गरे। नारायण गोपालको गीत ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ…’ उद्धृत गर्दै उनले भने, “नीति कार्यक्रम राम्रो छैन भनेर बोल्दा योजना काटिन्छ कि भनेर सब चुप छन्।”
त्यस्तै, ‘सम्राटको नयाँ लुगा’ भन्ने कथाबाट उदाहरण दिँदै भाटले भने, “सबैले देखेर पनि चुप लागेको छ, बच्चाले भनेझैँ भन्न सक्ने आँट कसैमा छैन— राजा त नाङ्गै छन्।”
राष्ट्रवादमाथि पनि प्रश्न
सांसद सरलले सुदूरपश्चिमको भूमिमा भारतले डोजर चलाइरहँदा दुईतिहाइको राष्ट्रवाद मौन रहेको आरोप लगाए। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता मुद्दामा प्रदेश सरकारले ठोस नीति ल्याउन नसकेको भन्दै असन्तुष्टि जनाए।
नीति कार्यक्रम ‘रङ्गीचङ्गी’ तर आत्मनिर्भरता विहीन भएको आरोप
उनले नीति कार्यक्रम सुन्दर भाषामा लेखिएको भए पनि त्यसले प्रदेशलाई आत्मनिर्भर बनाउन नसक्ने बताए। “फुलबुट्टा भरिएको कार्यक्रम ल्याएर देखाउन खोजिएको छ, कार्यान्वयनका लागि होइन,” भाटको आरोप थियो।
प्रदेशको अवस्थामाथि चिन्ता
भाटले विद्यालयमा विद्यार्थी संख्या घटेको, स्वास्थ्य अवस्था दयनिय रहेको, विमानस्थलहरू प्रयोगविहीन भएको र भाषा-संस्कृति मासिँदै गएको तर्फ पनि ध्यानाकर्षण गराए। उनले भने, “विकासका नाममा प्रदेशको वास्तविकता छोप्न खोजिएको छ, तर बाहिर सुशासनको गफ दिइरहेका छन्।”
सुझाव र अपेक्षा
सांसद भाटले हिमाल, पहाड र तराईको अलग-अलग आवश्यकता अनुसार नीति आउनुपर्ने, हरित पर्यटन र थारु समुदायको समृद्धिका लागि रुपान्तरणकारी कार्यक्रम आवश्यक रहेको सुझाव दिए। “अब पुरानै संरचना र शैलीमा गफ गरेर हुँदैन,” उनले भने।
निष्कर्षमा भने— ‘बाहिर केही, भित्र केही’
“बाहिर ‘सब ठिक छ’ भन्ने देखाउने, तर भित्र लाभको खेल चलाउने नीति कार्यक्रम आएको छ,” भाटले निष्कर्षमा भने, “नीति कार्यक्रमले सुदूरपश्चिमलाई समृद्ध बनाउन सक्दैन, यो केवल आकस्मिक सौन्दर्य हो।”
सांसद भाटको सम्बोधनले सुदूरपश्चिमको नीतिगत असमञ्जस, भ्रष्टाचारको सम्भावित खतरा र राजनीतिक मौनताको गम्भीर सन्देश दिएको छ। सरल नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।