धनगढी : कैलाली र कञ्चनपुर जिल्लाबाट प्रहरीले अवैध लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
कैलाली जिल्लाको टिकापुर नगरपालिकामा इलाका प्रहरी कार्यालय टिकापुरको टोलीले विशेष सूचनाको आधारमा मंगलबार दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाका २२ वर्षीय अमित थारु र २४ वर्षीय किशोर गिरी रहेका छन्। उनीहरूको साथबाट २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।
त्यस्तै, कञ्चनपुर जिल्लामा पनि लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारको संयुक्त टोलीले मंगलबार नै एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका-८ मजगाउँका ३० वर्षीय अनिल राना पक्राउ परेका हुन्।
उनको साथबाट १२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ। उनलाई पनि आवश्यक कानूनी प्रक्रिया पुरा गरी नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।