धनगढी: कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका घाईते भएकी छन्।
शुक्लाफाँटा नगरपालिका–४ आसपुरीमा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीकाअनुसार सोही ठाउँ बस्ने १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरिएको छ।
उनको अहिले उपचार भईरहेको छ। यस्तै भीमदत्त नगरपालिका–१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडी रहेको पानीको तलाउमा डुबेर सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ।
रानालाई डुबिरहेको देखेपछि आमाले घाईते अवस्थामा फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुगाएकी थिइन् तर रानालाई बुधवार चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यस्तै कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडा स्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११ लिउसन बस्ने ७९ वर्षीय नरी कामी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।