धनगढी: विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो।
बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए।
यस्तै उता कञ्चनपुरमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको लालझाडी गाउँपालिका–६ का अन्दाजी २६ वर्षीय रमित चौधरी करेन्ट लागेर गम्भीर घाइते भएका हुन्।
उनलाई भीमदत्त नगरपालिका–४ मदनचोकमा विद्युतको पोलमा चढेर मर्मत गर्ने बेला करेन्ट लागेको हो। उनलाई धनगढीको नवजिवन अस्पतालले थप उपचारलागि भारत रेफर गरेको प्रहरीले जनाएको छ।