धनगढी : नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य नवीन थापा अस्ति कारबाहीमा परे। उनलाई पार्टीकी केन्द्रीय अध्यक्ष तथा पार्टी संरक्षक रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेकी थिइन्। उनलाई रञ्जिताले साधारण सदस्य पनि नरहने गरि पार्टी निकाला गरेकी थिइन्।
अध्यक्ष रञ्जिताले पार्टीको हितविपरीत कार्य गरेको भन्दै थापालाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको बताएकी थिइन्।
तर सो कारबाही सेलाउन नपाउँदै थापा सुदूरपश्चिम सरकारमा नवनियुक्त उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीको स्वकिय सचिवमा नियुक्त भएका छन्।
उनले आफूलाई रेशमलालले नियुक्ति दिलाएको बताउने गरेका छन्। अवसरकै लागि नाउपा छिरेका थापा यसअघि कृषिमन्त्री घनश्याम चौधरीका स्वकीय सचिव पनि बसेका थिए। पार्टीभित्र रञ्जिताविरुद्व लागेका थापा अहिले रेशमलाल निकट छन्।