धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडामा आज चट्याङ लाग्दा १० जना व्यक्ति घाइते भएका छन्।
स्थानीय भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्यतिथिमा सहभागी भइरहेका स्थानीय मानिसहरू खाना पकाउने क्रममा अमट्टाको रुखमुनि टेन्ट हालेर बसेका थिए। उक्त रुखमा चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्।
घाइते व्यक्तिहरूलाई तत्काल उपचारको लागि बर्दगोरिया अस्पताल प्रा.लि., बौनिया कैलालीमा पुर्याइएको छ। हाल सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।
घाइते हुनेहरूमा ५० वर्षीया फिरिया देवी चौधरी, ३५ वर्षीया रिता देवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुल कुमारी चौधरी, ३५ वर्षीया निर्मला देवी थारु, र ३० वर्षीया ममता थारु रहेका छन्।
चट्याङका कारण थप क्षतिको विवरण भने हालसम्म प्राप्त नभएको जनाइएको छ।