बझाङ: बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो।
वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए। जोशीको आज खोजतलास गर्दा जंगलमा शव भेटिएको वडाध्यक्ष जेठाराले बताए।
यस्तै वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन्। डिलाशैनी गाउँपालिका वडा नं ३ दौँखोलाका अम्मर बोहराको घरमा क्षति पुगेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगेको बताए। पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ।
डिलाशैनी गाउँपालिकाकाका अध्यक्ष सन्तोष जोशीले पहिरो पीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताए।