धनगढी : निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ ।
आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् ।
प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार आयोगले काम अगाडि बढाउने भएको छ ।
छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सहभागी थिए । सुदूरपश्चिममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद खाली छ । त्यस्तै दार्चुलाको दुहुँ गाउँपालिका ५, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पद पनि खाली छ ।
सुदूरपश्चिममा उपाध्यक्षसहित ५ पद रिक्त हुँदा देशै भरी कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त रहेका छन् ।