धनगढी: सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरु सडक प्रदर्शनमा उत्रिएका छन्। आज (बिहीबार) नेताहरुले धनगढी प्रदर्शन गरेका हुन्।
अनेरास्ववियु सुदूरपश्चिमले प्रदर्शनसहित विपिन जोशीको रिहाईका लागि हस्ताक्षर अभियान थालेको जनाएको छ। प्रदेश अध्यक्ष मनोजराज राईका अनुसार इसरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समूह (हमास) को नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशीको रिहाइका लागि प्रदर्शन तथा अभियान थालिएको हो।
सोही क्रममा आज अनेरास्ववियुले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि बृहत हस्ताक्षर संकलन अभियान सम्पन्न गरेको छ।
धनगढीमात्र नभएर सुदूरपश्चिमका सबै जिल्लामा वृहत हस्ताक्षर संकलन अभियान सन्चालन गरिने जनाइएको छ। सरकारले उनको रिहाइ गर्न पहल गर्नुपर्ने उनीहरूको भनाई छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत भदौमा इसरायल गएका थिए।
त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए।
हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए। विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएका थिए। त्यसपछि उनलाई हमासले बन्धक बनाएको बताइन्थ्यो।