काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्र र नियामक निकायबीच तादम्यता नमिल्दा शासन प्रणाली नै जाम हुने खतरा भएको बताएका छन् ।
बेलाबेला यस्तो अवस्था देखिने गरेको बताउँदै उनले प्रधानमन्त्री भएका बेला अख्तियार प्रमुखसँग धेरैपटक छलफल गरेर समाधानको प्रयास गरेको बताए । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो अप्ठेरो हटाउनुपर्नेमा प्रचण्डको जोड छ ।
उक्त ऐन संशोधनका लागि बनेको विधयेकमाथि आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा धारणा राख्दै उनले अख्तियारको कामबाट कर्मचारीतन्त्रमा आतंक फैलिने गरेको अनुभव सुनाए।
राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन जरुरी रहेकोमा उनको जोड छ ।
भ्रष्टाचार निवारणको विषय कानूनी वा प्राविधिकमात्रै नभई सामाजिक, सांस्कृतिक चेतनासँग पनि सम्बन्धित रहेकाले त्यसैअनुसार समाधान खोजिनुपर्ने धारणा प्रचण्डले राखे ।
भ्रष्टाचारसँग सम्बन्धित मुद्दामा हदम्यादको समय कति राख्ने वा राख्दै नराख्ने भन्ने विषय छलफलबाट टुंग्याउनुपर्नेमा उनले जोड दिए ।
अख्तियारले मुद्दा दर्ता गर्नेबित्तिकै पदबाट निलम्वन हुने कुरा ठिक हो वा होइन भन्नेबारेमा पर्याप्त छलफल आवश्यक रहेको प्रचण्डको भनाई छ ।