धनगढी : सुदूरपश्चिम प्रदेश सभामा माओवादी विभाजित भएको छ । लामो समयदेखि गुटबन्दीमा रुमलिएको माओवादी संसदीय दल स्पष्ट रुपमा दुई धारमा देखिएको छ ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदा माओवादी प्रस्ट दुई धारमा विभाजित भएको देखियो ।
मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् । ६ माओवादी सांसद मध्ये ५ जना एउटै खेमाका हुन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित थिएनन् ।
माओवादी केन्द्रमा यसअघिबाटै संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । बहुमत सांसदहरूले दलको नेताबाट हटाएपछि तत्कालीन दलका नेता खगराज भट्ट रुष्ट बनेका थिए । उनी निरन्तर संसद् बैठकमा अनुपस्थित हुँदै आएका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङ असार १२ गते पत्र नै लेखेर सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । अध्यक्ष र महासचिवको सर्कुलरपछि पनि दलको नेता हेरफेर नभएपछि माओवादीका थप विवाद बढेको हो ।
दलको नेता परिवर्तनको गृहकार्य नहुँदै फेरि सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता मानबहादुर धामीले गीता माललाई प्रमुख सचेतक नियुक्त गरेपछि माओवादीमा थप विवाद चुलिएको हो ।
‘दलको नेता परिवर्तनको बहस भइरहेका बेला उहाँले फेरि एकलौटी प्रमुख सचेतक नियुक्त गर्नुभयो कुनै छलफल गर्नु भएन’ माओवादी एक सांसदले भने ।
सुदूरपश्चिममा माओवादीमा सभामुख बाहेक १० सांसद छन् । १० सांसद मध्ये धामीको पक्षमा ५सांसद छन् भने भट्टको पक्षमा ५ सांसद छन् ।
धामीसहित अक्कल रावल, ओम क्रिम भाट,गीता माल र लक्ष्मी विक एउटा समूह बन्दा भट्टसहित झपट साउद, रमेश धामी, शिव सिंह ओली र जानकी कुवर अर्को समूहमा विभाजित भएका छन् ।
अहिले माओवादी प्रमुख प्रतिपक्षी दल भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई पनि सवारी सुविधा रहेको छ ।
अहिले दुवै सुविधा एउटै समूहका नेताले लिन लागेको भन्दै पनि विरोध भइरहेको छ । यता मानबहादुर धामीले भने आफूलाई बहुमत सांसदहरूले दलको नेता बनाएको भन्दै बहुमतबाट मात्रै हट्ने तर, राजीनामा नदिने बताउँदै आइरहेका छन् ।
दुई समूहमा विभाजित भएको माओवादीमा थप शक्ति सङ्घर्ष उत्पन्न हुँदै गइरहेको छ।
माओवादीका उपनेता अक्कल रावलले माओवादी सांसदहरू बाहिर भएको हुँदा संसद्मा नआएको बताए । उनले ह्विप जारी नगरिएको हुँदा पनि आफ्ना सांसदहरू नआएको उनको तर्क थियो ।