धनगढी : बैतडीको सिगास गाउँपालिका-५ स्थित भुवनेश्वरी मावि, खैरकोटका प्रधानाध्यापक (प्रअ) बिरेन्द्रसिंह धामीले आफूमाथि हातपात भएको बताएका छन्। उनका अनुसार स्थानीय जगदीश धामीले विद्यालयको कार्यकक्षमै प्रवेश गरेर हातपात गरेका हुन्।
मंगलबार दिउँसो शिक्षकहरूसँग कार्यालयमा छलफल गरिरहेको अवस्थामा जगदीश धामीले हातपात गरेको प्रअ धामीले जानकारी दिए। “जगदीश भूपू कास हुन्। उनले कार्यकक्षमै प्रवेश गरी हातपात गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिए। म यसबारे प्रहरीमा निवेदन दिन तयारी गरिरहेको छु,” प्रअ धामीले भने।
उनका अनुसार, आफूलाई कास पदबाट किन हटाइएको र पुनर्बहाली गर्नुपर्ने भन्दै जगदीशले आक्रमण गरेका हुन्। प्रअ धामीले जगदीशलाई कास पदबाट हटाउने निर्णय विद्यालय व्यवस्थापन समितिको बैठकबाट गरिएको बताए। “उनले कास पदमा रहँदा सन्तोषजनक काम नगरेका कारण पटकपटक स्पष्टीकरण मागिएको थियो। अन्ततः व्यवस्थापन समितिको बैठकबाट उनलाई हटाउने निर्णय गरियो,” प्रअ धामीले भने।
तर, जगदीश धामीले भने आफूले हातपात नगरेको दाबी गरेका छन्। उनले पुनर्बहालीका लागि गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएका छन्। “पुनर्बहालीको विषयमा छलफलका लागि प्रअले नै मलाई बोलाएका थिए। मैले कुनै हातपात गरेको छैन,” उनले भने।
यसबारे औपचारिक रूपमा निवेदन प्राप्त नभएको भए पनि घटनाको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।