काठमाडौं: अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयरले काठमाडौंमै डेरा बनाएका छन्। उनीहरूले १ महिनादेखि काठमाडौंमै डेरा हालेको पाइएको हो।
नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौंमै छन्।
मनसुन सक्रिय भएर बाढीपहिरोको जोखिम बढिरहेको बेला नगरपालिकाको नेतृत्व गैरजिम्मेवार बनेर काठमाडौंमा रहनु लज्जाको विषय भएको भन्दै त्यहाँ अन्य दलहरुले भने आपत्ति जनाएका छन्। एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
कानूनबमोजिम मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत खटाएको विषयमा नगर प्रमुखलाई यति धेरै आपत्ति र छटपटी हुनुको अर्थ उदांगिएको जनाइएको छ। आफूले रोजेको व्यक्तिबाहेक अरुलाई प्रमुख प्रशासकीय अधिकृत मान्दैन भन्ने नगर प्रमुखको हठको रहस्य आफ्नो नेतृत्वमा भएका आर्थिक अनियमितता र भ्रष्टाचारका फाइल ढाकछोप गर्नु रहेको एकपछि अर्को घटनाले पुष्टि हुँदै गइरहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा थप भनिएको छ, ‘आफूले भनेको कागजमा खुरुखुरु सही धस्काउने ध्रुव सापकोटा जस्तै खल्तीको हाकिमको नगर प्रमुखलाई इच्छा जागेको कारण उहाँको नेतृत्वको जम्बो टीम जनताका काम लथालिंग छोडेर शक्ति केन्द्र र मन्त्रालयमा धाउने बेकाममा काठमाडौंमा व्यस्त छ। कानूनबमोजिम मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत खटाएको विषयमा नगर प्रमुखलाई यति धेरै आपत्ति र छटपटी हुनुको अर्थ उदांगिएको छ। मैले रोजेको व्यक्तिबाहेक अरुलाई प्रमुख प्रशासकीय अधिकृत मान्दैन भन्ने नगर प्रमुखको हठको रहस्य आफ्नो नेतृत्वमा भएका आर्थिक अनियमितता र भ्रष्टाचारका फाइल ढाकछोप गर्नु रहेको एकपछिका अर्को घटनाले पुष्टि हुँदै गइरहेको छ।’