धनगढी: सत्ता समीकरण फेरिएर सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी पदच्युत भए। त्यसपछि नयाँ मुख्यमन्त्री एमालेको समर्थनमा काङ्ग्रेसकै बन्ने कोर्स सुरु भएकोमा विभिन्न चर्चाहरु भए।
अन्ततः सोडारीले राजीनामा दिएदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका भतिज प्रकाश मुख्यमन्त्री बन्ने पक्कापक्की थियो। अधिकांश प्रदेश सभा सदस्य पनि उनको पक्षमा थिए। सुदूरपश्चिमका प्रायः सभापति उनको पक्षमा बोल्न सभापतिकोमा पनि पुगेका थिए।
तर, देउवा दम्पतीले आफ्नै भतिजालाई मुख्यमन्त्री बनायो भन्ने आलोचनाको डरले कमलबहादुर शाहलाई दलको नेताबाट राजीनामा गर भन्न सकेनन्। उनले दलको नेताबाट राजीनामा नगरिदिँदा पनि प्रकाशको मुख्यमन्त्री हुने बाटो खुलेन। धनगढीबाट राजीनामा गर्छु भनेर काठमाडौँ पुगेका शाहले सभापति देउवासँग मैले पहिले १४ महिना अनुभव लिएँ अब फेरि काम गर्ने मौका दिनुपर्यो भनेका थिए। शाह यही प्रदेशसभाको कार्यकालमा फेरि मुख्यमन्त्री बनेका छन्। उनी प्रकाश देउवाकै सहयोगमा यसअघि दलको नेता र मुख्यमन्त्री थिए।
एमालेमा मन्त्री छनोटबारे असन्तुष्टि
एमालेले भने मुख्यमन्त्री सोडारीकै कार्यकालमा मन्त्रीलाई दोहोर्याएकोमा चर्को विरोध छ। दलका नेता राजेन्द्र सिंह रावलले दलभित्र राणा शासन लागू गर्न खोजेको केही प्रदेश माननीयको आरोप छ ।
उनलाई उपनेता सन्तोष शर्मा थापालाई मन्त्री बन्नबाट रोकेको पनि आरोप लागेको छ। थापा रावल मुख्यमन्त्री हुँदा एक महिना बिनाविभागीय मन्त्री भएकी थिइन्। रावलले विश्वासको मत नपाउँदा सरकार ढलेको थियो। थापाले सोडारीको पालामा मन्त्री हुन मानेकी थिइनन् भन्ने चर्चा थियो। यो पटक भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मन्त्री हुनुपर्छ भनेकोले ढुक्क भएर धनगढी गएकी थिइन्। तर रावल र एमाले महासचिव शंकर पोख्रेलसहितले उनलाई रोकेको चर्चा धनगढीमा छ।
सन्तोषनिकट बाजुरा जिल्ला कमिटीका सदस्य नरेन्द्र थापा सहवीरले त फेसबुकमा महासचिव शंकर पोख्रेललाई ट्याग गरेर दलका नेता रावलको विरोध गरेका छन्।
उनले भनेका छन्– समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका रावलले संसदीय दल र पार्टीको प्रदेश कमिटीसंग छलफलै नगरी कसैको हुकुम प्रमाणित गरेका छन्। उनको भनाइमा धेरैले सहमति जनाएका छन्। बाजुराको बूढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले पनि सुदूरपश्चिमको राजनीति केही गुटिया र नवदलालको हातमा पुगेको टिप्पणी गरेका छन्। बाजुरा पुख्र्यौली घर भएकी सन्तोषलाई स्थायी समिति सदस्य कर्णबहादुर थापा नातेदार र निकट भएको आरोपमा महासचिव पोख्रेलको निर्देशनमा रोकिएको चर्चा छ।
महासचिवसँग लामो समय निकट रहेका थापा पछिल्लो पटक टाढिएका छन्। थापाले प्रदेश इञ्चार्ज हुन खोजिरहेकोमा अघिल्लो पटक दिइएको खेलकुद खोसेर यो पटक सामान्य प्रशासन विभागमा राखिएको छ।