काठमाडौं : सरकारले पशुपतिनाथ मन्दिरको कोटीहोमस्थलमा भएको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।
शुक्रवार कोटीहोमका आयोजक विजयकृष्ण मूर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न जाँदा प्रहरीविरुद्ध नाराबाजी र हुलहुज्जत भएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा शनिवार सात सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिका सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं र मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा रहेका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल सदस्य–सचिव रहेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेलगायतको छलफलपछि सात सदस्य छानबिन समिति बनाउने निर्णय भएको हो ।