काठमाडौं: पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आजदेखि भारतको औपचारिक भ्रमण थाल्दैछिन्। समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा राणा पाँच दिने भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनी बिहिबार फर्कने तालिका छ। परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भने पाँच दिन दिल्ली बस्दा जम्माजम्मी एक जनासँग भेटवार्ता गर्ने उल्लेख छ।
गत साता दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपतिदेखि आफ्ना नेपाली समकक्षीसम्म गरेर झण्डै एक दर्जनसँग औपचारिक भेट गरेका थिए। एजेण्डाबिना काठमाडौं आएका भनिएका मिस्रीले विदेशमन्त्री जयशंकरको निम्तो मन्त्री राणालाई हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उल्टै प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन आग्रह गरेका थिए।
मन्त्रालयका एक जना सचिवले यताका राष्ट्रपति,प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुसँग घर घरमा पुगेर भेटे भने सिंहदरबारमा परराष्ट्रमन्त्री राणा र गृहमन्त्री रमेश लेखकसँग पनि कुरा गरे।
उनले नेपाली समकक्षी सेवा लम्सालसँग औपचारिक छलफल गरेका थिए। पदीय हिसाबले उनीसँग लम्साल र मन्त्रालयको नाताले मन्त्री राणाले बाहेक अरुले भेट गर्नु जरुरी थियो। तर, यताका मन्त्रीले आगामी पाँच दिनमा न प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ, न अरु कुनै मन्त्रीसँग।