कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१७ ले बनाएको शव वाहन थन्किएको छ ।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले ढुवानीमा प्रयोग हुने टिप्परलाई नियम विपरीत शव वाहन बनाएको भन्दै सञ्चालनको अनुमती नदिएपछि अलपत्र अवस्थामा थन्किएको हो ।
वडा कार्यालयले १० लाख रुपैयाँमा टिप्परलाई काटेर बनाएको शव बोक्ने महाप्रस्थान यानलाई यतायात कार्यालयले सञ्चालनको अनुमती नदिएपछि वडाको बजेट बालुवामा पानी भएको छ ।
यातायात कार्यालयको अनुमती बिना एकलौटी ढंगबाट बनाएको महाप्रस्थान यानमा वडा कार्यालयले गरेको लगानी खेर गएको हो ।
मालवाहक सवारी साधनलाई यात्रु बाहक र यात्रु बाहकलाई सवारी साधनलाई मालवाहक परिवर्तन गर्न नपाइने भएकोले उक्त टिप्परलाई महाप्रस्थान यानमा अनुमती दिन मिल्दैन । ढुवानी गरेको पाइएमा सवारी साधनलाई पुरानै संरचनामा ल्याउनु पर्ने र कानुनी हिसाबले कारबाही समेत गर्न सकिने यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका मेकेनिकल इन्जिनियर ललित भट्टले बताए ।
महाप्रस्थान यानको लागि बनाउने सम्बन्धि वडाबाट आएको पत्रलाई कसरी कार्यालय प्रमुुखले अनुमती दिए त्यसबारेमा आफुलाई थाहा नभएको र यो नगरकै गल्ती भएको नगरपालिकाका प्रवक्ता पदम राज अवस्थीले बताए ।