धनगढी: धनगढीमा किशोरी मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। आइतबार धनगढी उपमहानगरपालिका–१ को चकमेली चोकस्थित डेरामा ती किशोरी मृत भेटिएकी थिइन्।
प्रहरीका अनुसार मृत फेला परेकी किशोरी बेलौरीकी आस्था थापा हुन्।
कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिसटेन्ट –एचए) पढिरहेकी थापा दिउँसो १ बजेतिर मृत भेटिएकी थिइन्।
प्रहरी स्रोतका अनुसार थापासँगै बस्ने कञ्चनपुरकै अर्की युवती भने अघिल्लो दिन साथीको घर गएकी थिइन्। आइतबार दिउँसो उनी कोठामा पुग्दा भित्रबाट ढोका बन्द गरिएको थियो। धेरैबेर बोलाउँदा ढोका नखुलेपछि घर धनी र त्यहाँ बस्ने अन्यले ढोकामा धक्का दिएपछि खुलेको थियो।
उनीहरुले ढोका खोल्दा थापा झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। थापाको शरीरमा निलडाम रहेको भन्दै उनका आफन्तले हत्याको आशंका गरेका थिए। सोही कारण ढिलोगरि प्रहरीले शव उठाएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले झुन्डिएको अवस्थामा भेटिकी आस्थाको मृत्युको कारण खुलिनसकेको बताए। कार्कीले उनको शव परीक्षणपछि सोमबार परिवारले बुझेको बताउँदै घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन्।
प्रहरीकाअनुसार थापाको मृत्युको कारण नखुलेपनि उनी विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको पाइएको छ। थापासँग प्रेम सम्बन्धमा रहेका बेलौरीकै बिष्ट थरका युवक उनको कोठामा आउजाउ गरिराख्थे भने उनीहरुबीच झगडा समेत भइरहन्थ्यो।
विगत दुई महिनादेखि आफैसँग अध्ययन गर्ने कञ्चनपुरकै युवतीसँग थापा बस्दै आएकी थिइन्। ती युवतीकाअनुसार पनि प्रेमी र उनकाबीचमा फोनमा नै झगडा भइरहन्थ्यो। तर थापाले आफू समस्यामा रहेको कुनै संकेत समेत गरेकी थिइनन्।
साथीको घरबाट कोठा फर्किदा थापा झुन्डिएको अवस्थामा देखेको उनको भनाई छ। परिवारले थापाको हत्याको आशंका गरेपनि त्यो कुरा पुष्टि हुने आधार फेला नपरेका प्रहरीले जनाएको छ। मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय कैलालीमा उनीहरुले ज्यान सम्बन्धी मुद्धा दर्ता गरेका छन्।
र, यो पनि: धनगढीमा आस्था मृत्युकाण्ड: नाङ्गो शरीरमा निलडाम
धनगढीमा एचए पढ्ने बेलौरीकी आस्था मृत फेला