धनगढी: भारतको उत्तराखण्ड हुँदै नेपालस्थित कञ्चनपुरको महेन्द्रनगरबाट लागुऔषध (ड्रग्स) को तस्करी हुने गरेको पाइएको छ। उत्तराखण्डको उद्यमसिंह नगरस्थित खटिमामा त्यहाँको प्रहरीले हालै एक अपरेसनमा ड्रग्सको ठूलो कारोबारी समूह समातेपछि सो तथ्य खुलेको हो।
विशेष: भारतको उत्तरप्रदेश र उत्तराखण्डबाट नाका कटाएर नेपालमा ड्रग्स सप्लाई गर्दै तस्करी हुने गर्दछ। सोही क्रममा अस्ति नेपाल सप्लाई गर्नका लागि राखिएको ४ करोड ५० लाख भारु बराबरको (१ केजी ५२७ ग्राम) ड्रग्स प्रहरीले समातेको छ।
जसमा साढे ४ करोडको स्म्याक, १ पेस्तोल, ६ थान कारतूससहित एक गाडीसमेत बरामद गरिएको हो।खटिमामा सो कारोबारमा संलग्न २ जना मान्छेलाई पनि प्रहरीले समातेको जनाएको छ।
त्यहाँको एसटीएफका वरिष्ठ प्रहरी उपरीक्षक आयुष अग्रवालका अनुसार ती २ कारोबारीले गाडीलाई बरेलीबाट नेपालतर्फ ल्याइरहेका थिए।
उनीहरू चकरपुर बनमंडी महादेव मन्दिर नजिकबाट समातिएका हुन्। समातिनेमा सितारगञ्जका कुलवन्त सिंहका छोरा जसनदीप सिंह र सुरेन्द्रपाल सिंह रहेका छन्।
यो वर्षमात्रै अहिलेसम्म त्यहाँको प्रहरीले ५.९ केजी स्म्याक, १९.८ केजी चरस र ५.३२२ केजी अफिम बरामद गरेको जनाएको छ।