काठमाडौँ: आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बस्ने सपना लामिछाने छिन्। उनलाई रानीपोखरीबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको हुनाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी रजौरेले बताए। केहि दिनअघि काठमाडौंको चण्डोलमा राति १० बजे अर्काको घरमा गएर उनले गाडी लगायका सामग्री तोडफोड गरेको आरोप छ। तोडफोडमा संलग्न अर्की महिला फरार छिन्।
शुक्रबार प्रहरीले पक्राउ गर्नुअघि उनले सामाजिक संजाल फेसबुकमा लाइभ गरेर ‘बलात्कार मुद्दा दबाउन प्रहरीले पक्राउ गरेको’ आरोप लगाएकी थिइन्। उपत्यका प्रहरी कार्यालयबाट लाइभ गरेर उनले भनेकी छन्,‘एआईजी किरण बज्राचार्यले मलाई बोलाउनुभो अनि, मेरो अर्को मुद्दा दबाउन पक्राउ गरिएको छ।’
पक्राउ पुर्जी आएको थाहा पाएपछि छाड्न नमिल्ने भएको हुनाले महाराजगञ्जको टोली बोलाएर जिम्मा लगाएको एआईजी किरण बज्राचार्यले बताइन्। उनले भनिन्, ‘उहाँविरुद्ध पूर्जी आएको रहेछ, त्यसैले सम्बन्धित वृतमा बोलाएर अनुसन्धानका लागि पठाएको छु।’