काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद वस्तु बम भएको बताइएको छ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले राति १२ बजे थाहा पाएको थियो। नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद वस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाको दुई टोली पुगेको थियो।
बिहान ५ बजे पुगेको टोलीले साढे ८ बजे शंकास्पद वस्तु निष्क्रिय पारेको थियो। उक्त डिस्पोज गरिएको वस्तु बम भएको नेपाली सेनाका एक उच्च अधिकारीले बताए। तर, कैलाली प्रहरीले भने उक्त वस्तुलाई माटो भनेर भनेको छ।
हाल देउवाका भतिजासमेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा बस्ने उक्त घर अगाडि बम राखिएको खबरपछि आज जिल्लास्थित सबै सुरक्षा निकायको बैठक बसेको छ। २४ सैं घण्टा प्रहरी बस्ने सो घरनिरै बम राखिएको घटना गम्भीर भएको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सुरक्षा बैठक बोलाएका थिए।
यस्तै उक्त घटनामा संलग्नलाई कैलाली प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ। अनुसन्धान निष्कर्ष नजिक पुगेको र संलग्नलाई पक्राउ गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार एकजना गौरव नाम गरेका व्यक्ति शङ्काको घेरामा रहेका छन्। उनैले केतलीमा बमजस्तो वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ।