काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीसहितका विशिष्ट अधिकारीहरू उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न गत बिहीबार सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गरेपछि सर्वोच्चमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट रिटको शृंखला नै चलेको छ।
यसअघि, गत आइतबार सशस्त्र प्रहरीको डीआईजीबाट अवकाशको पत्र पाएका अभिकुमार खत्रीसहित १२ जनाको तर्फबाट रिट दायर भएको थियो। त्यसमा मंगलबार नै न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
मंगलबार नै श्याम ज्ञवालीसहिततका प्रहरी अधिकारीहरू रिट लिएर सर्वोच्च पुगेका छन्। उनीहरूले नेपाल प्रहरी ऐन र नियमावलीले तोकेको पदका आधारमा उमेरहद खारेज गरी समानरूपमा निजामति ऐनमा जस्तै उमेरहद कायम गर्न माग दाबी गरेका छन्।
एआईजी ज्ञवाली यही भदौ २५ मा उमेरहदका आधारमा अवकाशमा जाँदै छन्। उनीसहितले ३० वर्षे कार्यान्वयन नभएसँगै पदका आधारमा उमेरहद पनि खारेज गर्न माग गरेको बताइएको छ।