काठमाडौँ: प्रहरी र सशस्त्रको सरुवा स्वाभाविक भएको बताउँदै गृहमन्त्री रमेश लेखकले त्यसमा आफ्नो ध्यान नभएको दाबी गरेका छन्। शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै लेखकले भने, ‘सरुवाको नाममा अवाञ्छित काम गरिने छैन, सरुवा हिजो हुन्थ्यो भोली पनि हुन्छ।’
सुरक्षा निकायलाई सक्षम बनाउने कानुन निर्माणमा आफ्नो ध्यान भएको उल्लेख गर्दै उनले भने, ‘सरुवामा मेरो ध्यान छैन।’
भदौ ६ मा सर्वोच्च अदालतले ‘३० वर्षे सेवा अवधि लागू नगर्न अन्तरिम आदेश’ गरेको विषय सैद्धान्तिक रूपले मेल नखाएको लेखकले बताए। उनले भने, ‘सैद्धान्तिक रूपमा मेल नखाएको लागेर भ्याकेट निवेदन दर्ता गराएका हौँ।’
यस्तै लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका छन्। लेखकले भने, ‘मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ, चाँडो संसदमा प्रस्तुत गर्ने योजना छ।’ केपी ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा प्रहरी ऐन संसदमा दर्ता गर्ने उनले बताएका छन्। उनले भने, ‘हामीले यो काम १ सय दिनमा पुरा गर्छौँ।’
निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरेर एउटै कानुन बनाउने प्रक्रिया अघि बढेको लेखकले बताए। उनले भने, ‘सशस्त्र प्रहरी र अध्यागमन विधेयक तयारीको चरणमा छ।’
प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी निर्देशिका स्वीकृत गरेर क्याबिनेट पठाए उनले बताए। उनले भने, ‘समय सापेक्ष कानुन निर्माण गर्ने र सम्बन्धित संस्थालाई कानूनद्वारा नै सञ्चालन गर्ने मेरो लक्ष्य हो।’