धनगढी : धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले शुल्क तिर्न ढिलाई भएपछि विद्यार्थीलाई कक्षाबाटै लखेट्ने गरेको छ ।
समाजिक सञ्जालमा आचाकाली प्रचार गरेर विद्यार्थी बटुल्ने एसपीएले शुल्क तिर्न ढिलाई गरे कक्षाबाटै लखेट्ने गरेको घटना बाहिरिएको हो ।
शुक्रबार मात्रै एसपीए कलेजले स्नातक बीएचएम दोस्रो सेमिस्टरमा अध्ययनरत तीन विद्यार्थीलाई कक्षाबाट निकालेको छ । उनीहरुले समयमै शुल्क तिर्न नसकेको कारण एसपीए कक्षाबाट निकालेको हो ।
‘दोस्रो सेमिस्टरको प्रयोगात्मक कक्षा भइरहेको थियो। कलेजमा अध्ययनरत एक विद्यार्थीले भनिन् ‘पैसा नतिर्नेहरू बाहिर जानू भन्दै हामीलाई सरले कक्षाबाट निकालिदिनु भयो, पहिलो सेमिस्टरमा दुई लाख बुझाउनुपर्ने थियो, दोस्रो सेमिस्टरको शुल्क एक लाख ३० हजार हो। तर पैसा नबुझाउँदा प्रयोगात्मक कक्षाबाट वञ्चित गराउनु हुने थिएन।’
पैसा नभएकाले आफूले समयमा शुल्क बुझाउन नसकेको उनी बताउँछन्।
उनकी दिदीले कलेजले भाइलाई निकाल्नुभन्दा अगाडि घरमा अभिभावकलाई जानकारीसमेत नदिएको बताइन्। ‘भाइको पढाइ तथा शुल्कका बारेमा कजेलबाट फोन पनि आउँदैन। कक्षाबाट निकाल्नुअघि मलाई कलेजले फोन गर्नुपर्ने हो तर त्यसो पनि गरेन,’ उनले भनिन्, ‘परीक्षाबाट भाइलाई निकाल्दा उनको मानसिकतामा पनि असर पर्छ होला।’
शुल्क नतिरेकै आधारमा परीक्षाबाट वञ्चित गराउनु विद्यार्थीको मानसिकतामा असर पर्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्। साथीहरूको अगाडि निस्किनू भनेर बाहिर पठाउँदा अब कक्षा कोठामा जान पनि अप्ठ्यारो लागेको ती विद्यार्थी बताउँछन्।