कर्णाली : चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौं मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन् । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् ।
कालीकोट शुभकालिका गाउँपालिका १ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।
उनले भने, ‘पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ । यही भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा छौं । त्यसका लागि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ । दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ ।’
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यथाशीघ्र सडक आगमन सञ्चालन होस् भनेर तीन दिनदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताए ।
‘हामीले तीन वटा स्काभेटर लगाएर आठबीस नगरपालिकास्थित मालाचौरमा गएको पहिरो पन्छ्याइसकेका छौं’, उनले भने, ‘किटु खोलामा सडक भाँसिएकाले तलबाट पर्खाल लगाउने काम भइरहेको छ ।’
पहिरो पन्छाउने कामलाई तीव्र गतिमा बढाउन सुर्खेत र नेपालगञ्जबाट बुलडोजर मगाइएको प्रजिअ भुसालले जानकारी दिए । उनका अनुसार सडकको पहिरो पन्छाएर नियमित आवतजावत हुन अझै दुई दिन लाग्नेछ । हिलो भएको ठाउँमा प्रहरीद्वारा ढुङ्गा राखेर पैदल हिँड्ने यात्रालाई सहयोग गरिएको उनले बताए ।
यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन प्रहरीले सहयोग गरे पनि स्याउ बोकेका गाडीहरु भने सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्याउन नसके लाखौंको क्षति हुने चन्दननाथ नगरपालिका ९ जुम्लाका स्याउ व्यापारी रामबहादुर खत्रीले दुःखेसो पोखे ।
‘केही आम्दानी लिने आशा बोकेर स्याउ झारियो, चार दिनदेखि बाटोमा थन्किएको छ’, उनले भने, ‘दैनिक गाडी चालक र सहचालकलाई खान बस्न व्यहोर्दै खर्च भइरहेको छ भने त्यसैगरी स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था छ ।’
करोडौंको स्याउ अलपत्र पर्दा यसबाट व्यापारीहरु मारमा परेका छन् ।