काठमाडौँ : अमेरिकाको भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै भेटिएकी छैनन्।
त्यसो त उनको हत्या भइसकेको र शव लुकाएको अभियोगमा उनका श्रीमान् ३१ वर्षीय नरेश भट्टलाई यही भदौ ६ (अगस्ट २२) मा मनासस पार्क प्रहरीले पक्राउ गरिसकेको छ।
तर उनीविरुद्ध अहिले हत्याको अभियोग लगाइएको छैन। हाल उनी शव लुकाएको अभियोगमा प्रहरीको हिरासतमा छन्।
योसँगै प्रहरीले ममताको शव खोजी पनि जारी राखेको छ।
यसै क्रममा प्रहरीले शुक्रबार सिग्नल हिल पार्क बन्द गरेर दिनभर शव खोजी गरेको छ।
मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार गुप्तचरहरूले सूचना दिएपछि प्रहरीसहितको टोली ममताको घरबाट लगभग एक माइल टाढा रहेको उक्त पार्कमा पुगेको थियो।
शव भेटिने आशामा प्रहरी अधिकारी उद्धारकर्मी सिग्नल हिल पार्कभित्र जंगल क्षेत्र र खेतमा पैदल खोजी गरेका थिए।
त्यस क्रममा फेला परेका विभिन्न वस्तु एकत्रित पारी ममतासँग सम्बन्धित हुन् कि होइनन् भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ममताका साथी तथा स्थानीय अनुसन्धानको नतिजाको प्रतीक्षा गरिरहेका छन्।
यसैबीच ममताको शव लुकाएको मुद्दामा अक्टोबर २४ मा हुने भनिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न अभियुक्त नरेश भट्टका तर्फबाट दायर मोसन अदालतले स्वीकार गरेपछि अब आगामी अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ।
त्यस दिन बिहान पौने ९ बजे प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा ग्रान्ड जुरी हुने बताइएको छ।
त्यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको अदालती कागजातमा जनाइएको छ।
नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्दको माग गरेको हो। जसका कारण मुद्दा सीधै अर्को चरणमा अर्थात् ग्रान्ड जुरी सुनुवाइमा गएको छ।
ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा काम गर्थिन्। उनी अन्तिमपटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर मनाससमा देखिएको प्रहरीले जनाएको छ।
भोलिपल्ट अर्थात् जुलाई २८ मा ममताले एक साथीसँग कुराकानी गरेकी थिइन् भने नरेशले उनलाई पछिल्लोपटक जुलाई ३० मा देखेका थिए। जुलाई ३१ देखि भने ममता बेपत्ता छिन्।
यसैबीच ममता काफ्ले बेपत्ता हुनुभन्दा महिनौँ अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भनेर गुगलमा सर्च गरेको पाइएको अभियोजकले अदालतमा दाबी गरेका छन्।
ममता र नरेशकी १ वर्षीया छोरी निमा हाल नेपालबाट गएकी हजुरआमाको हेरचाहमा रहेको बताइएको छ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका २ घर भएका नरेश र काभ्रेको पनौती ६ की ममताबीच ५ वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो।
यस क्रममा प्रेममा परेका उनीहरूबीच २०७७ मंसिर २५ गते विवाह भएको थियो। त्यसको ८ महिनापछि २०७८ साउन १० गते ममता पतिसँगै अमेरिकाका लागि उडेकी थिइन्।