धनगढी : धनगढीमा स्थानीय युवा नीति सम्बन्धी युवासँग छलफल सम्पन्न भएको छ । एकाउन्टविलीटी ल्याबले शनिवार गरेको कार्यक्रममा सहभागीले युवा नीति आवश्यक रहेको बताएका छन् ।
स्थानीय तहमा पनि युवा नीति आवश्यक रहेको युवाहरूले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा युवाहरूको जोड छ ।
युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनीहरूको जोड छ । धनगढी १८ फूलवारीका प्रीति नेपालीले स्थानीय तहमा पनि युवा नीति आवश्यक रहेको बताइन् । यस्तै उनले अभिभावक शिक्षामा पनि जोड दिइनुपर्ने बताइन् । उनले कुलतमा धेरै युवा फस्दै गएको प्रति चिन्ता व्यक्त गरिन् । युवा नीति बनेर कार्यान्वयनमा जोड दिइन सके धेरै समस्या समाधान हुने उनले बताइन् ।
धनगढी फूूलवारीका पुष्पराज शर्माले युवाका समस्यालाई समेटिने खालको युवा नीति ल्याउनुपर्ने जोड दिए । यस्तै उनले युवालाई आवश्यकताका आधारमा तालिम प्रदान गरिने बताए । उनले यहाँका युवाहरूलाई सिप र तालिमको आवश्यकता रहेको बताए ।
पत्रकार कृत विष्टले बेरोजगारी बढ्दा युवाहरू विदेश पलायन बढ्दै गएको उनले बताए । उनले आफ्नै क्षेत्रमा रोजगार मूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
धनगढी उपमहानगरपालिका १८ का वडा अध्यक्ष भूवन रिजालले स्थानीय युवा नीति आवश्यक रहेको बताए । स्थानीय तहमा युवा नीति बन्दा युवाहरूलाई सहज हुने हुँदा यो बन्न आवश्यक रहेको बताउँछन् । आफूले पनि यसमा जोड दिएको उनको भनाई छ ।
उनले स्थानीय युवाहरूलाई आवश्यकताका आधारमा तालिम दिइने बताए । उनले श्रम सानो, ठुलो नहुने बताउँदै आफ्नै देशमा पनि सानो लगानी गरेर व्यवसाय सुरु गर्नुपर्ने बताए । विदेश जाने पैसालाई आफ्नै देशमा लगानी गर्न सके यहाँ उत्पादन बढ्ने र स्वरोजगारी बढ्ने उनको भनाई छ ।
कार्यक्रमको सहजीकरण अकाउण्टीविलीटि ल्याबका कार्यक्रम संयोजक गंगा भण्डारी र भानुभक्त आचार्यले गरेका हुन् ।