धनगढी : प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
सुदूरपश्चिम प्रदेशमा आमसञ्चार माध्यमको अवस्था दयनीय बन्दै गइरहेको छ र विश्व बजारमा आएको आर्थिक मन्दी र कोरोनाकालको असर सुदूरपश्चिमका आमसञ्चार माध्यममा पनि परेको भन्दै सञ्चार क्षेत्रका विषयमा गम्भीर बन्न आग्रह गर्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । ‘आर्थिक अवस्थामा आएको मन्दीले धेरै सञ्चार माध्यमहरू बन्द भएका छन् भने अधिकांश पत्रकारहरू आफ्नो पेसा छोडेर पलायन हुने अवस्थामा पुगेका छन्’ मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रका उल्लेख गरिएको छ ।
प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । मन्त्रीलाई बुझाइएका ज्ञापन पत्रमा ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धी ऐन २०७६’ खारेजीको माग गरिएको छ । आमसञ्चार नीति बनाउन गठन गरिएको समितिले बुझाएको मस्यौदामा थप छलफल गरि परिमार्जनसहित विधेयक यथाशीघ्र संसद्मा प्रस्तुत गर्न समेत मन्त्रीसँग माग गरिएको छ ।
प्रेस चौतारीको ज्ञापन पत्र बुझ्दै आन्तरिक मामिला मन्त्रीले सुदूरपश्चिम प्रदेशका पत्रकारहरूको हक अधिकारको लागि आफू लागिपर्ने बताएका थिए । उनले आमसञ्चार नीति बनाउन सरकार लागिरहेको बताए ।