धनगढी : कैलाली प्रहरीले गत शनिबार १६ किलो लागुऔषध चरेससहित पक्राउ गरेकी बझाङको बुंगल नगरपालिका–२ की ४५ वर्षीया मंगलीदेवी धामीका श्रीमान समेत चरेसकै मुद्दामा प्रहरी हिरासतमा रहेको पाइएको छ ।
दहबगर मल्ली बत्थी घर भएर गोदावरी नगरपालिका–२ तेघरी बस्ने धामीका श्रीमान आइते धामी लागुऔषध चरेसको मुद्दामा जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेको पाइएको हो ।
आइते मंगलीदेवी पक्राउ परेको एक दिनअघि गत शुक्रबार चार किलो आठ सय ग्राम चरेससहित बित्थडचिर गाउँपालिकाबाट पक्राउ गरेका थिए ।
उनी धनगढी आइरहेको आफ्नै सुपप्र ०१००१ च ३९३३ नम्बरको जिपमा मकैको बोरामा चरेस लुकाएको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । आइते लामो समयदेखि चरेसको कारोबार गर्दै आएका पाइएको प्रहरीको भनाई छ ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज भण्डारीले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । कैलालीमा पक्राउ परेकी मंगलादेवी आइतेको श्रीमती भएको कुरा थाहा पाएको बताउँदै चरेस कारोबारमा संलग्न भए नभएको कुरा कैलाली प्रहरीको अनुसन्धानबाट खुल्ने उल्लेख गरे ।
कैलाली प्रहरीले गत शनिबार घरमै लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा आइतेकी श्रीमतीलाई पक्राउ गरेको थियो । मंगलादेवीले चरेस कारोबार गरेको कुरा अस्वीकार गरेकी छन् । तर उनलाई चरेस कारोबार गर्दागर्दै पक्राउ गरिएको प्रहरीको भनाई छ।