धनगढी: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको सरकारी सम्पत्ति दुरुपयोग गरिएको पाइएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नयाँ खुलेको क्यासिनोको पार्किङ बनाउन सार्वजनिक सम्पत्ति दुरुपयोग गरिएको हो।
त्यहाँका एक स्थानीयका अनुसार सार्वजनिक हितमा प्रयोग गर्न मागिएको अवस्था नदिइएको नगरपालिकाको टिप्पर क्यासिनोको पार्किङ निर्माणका लागि दिइएको हो।
जुवा खेल्ने खेलाउने स्थानको पार्किङ बनाउन वडाध्यक्ष प्रकाश थापाले नै लगेर सार्वजनिक सम्पत्ति दुरुपयोग गरेपछि आलोचना भैरहेको छ। वडाध्यक्ष थापाले नगरपालिकाको टिप्पर दुरुपयोग गराएको आरोप लागेको छ।
थापा अध्यक्ष रहेकै वडामा महेन्द्रनगरको तेस्रो क्यासिनो होटल रुपमको क्वीन्स लज रिगेमिङ क्लब क्यासिनोको पार्किङ बनाइदैछ। यस अगाडि महेन्द्रनगरमै डायमण्ड र ओपेराको क्यासिनो सञ्चालनमा थिए।
तेस्रो नयाँ क्यासिनोकै पार्किङ बनाउन भाडामा लिएको जग्गामा केही दिन अगाडि नगरपालिकाको टिप्परले माटो फाल्ने काम गरेको थियो। भीमदत्त नगरपालिका ११ गड्डाचौकी ७ नम्बर पिल्लर नजिक बिरभद्र जोशीको छोरा हरि प्रसाद जोशीको जमिन भाडामा लिएर क्यासिनोको पार्किङ सञ्चालनमा आउँदैछ भने क्यासिनो वडानम्बर ६ मा बनेको छ।