काठमाडौं: सिन्धुली पठाइएका तर अटेर गरि नगएका एसपी अर्जुनप्रसाद तिमिल्सिनाको अहिले हेडक्वार्टरमा कब्जा जमाएका छन्। ख वर्गको सिन्धुली नजाने भन्दै ख वर्गकै धादिङ जान इच्छा राखेका तिमिल्सिना हाल हेडक्वार्टरमा छन्।
प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन (कप्र) शाखामा रहेका उनै तिमिल्सिना सरुवा रोक्नेदेखि बढुवामा समेत अनेक चलखेल गरिरहेका छन्। सोही कारण उनी हेडक्वार्टरमा सबैको तारो बनेका हुन्।
उनी २०८० जेठमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम महाशाखा, महाराजगञ्जमा कार्यरत थिए।
त्यसबेला उनलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले हेडक्वार्टरमा ल्याए।
त्यसपछि सत्ता गठबन्धन परिवर्तन भएर गृहमन्त्रालयमा रवि लामिछाने आएकोमा उनको पालामा कप्र शाखा प्रमुख रहेका एसपी तिमिल्सिनालाई सिन्धुलीमा सरुवा गरिएको थियो।
तर, गत बैशाखमा सरुवा भएका उनी विभिन्न कारण देखाउँदै त्यहाँ जान मानेनन्। त्यसपछि उनको ठाउँमा एसपी गोविन्द काफ्ले गएका थिए।
हाल गृहन्त्रीको रुपमा रमेश लेखक छन्। तर, नारायण काजीको पालामा कप्रमा पुगेका तिमिल्सिना त्यहीँ कब्जा जमाएर बसिरहेका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले भने बेलाबेला प्रहरीका हाकिमहरु एकै ठाउँमा बस्न नहुने बताउँदै भाषण ठोक्ने गरेको भएपनि व्यवहारमा लागू गर्न सकेको देखिदैन।
प्रहरीको सरुवा–बढुवा हेर्ने शाखा कप्रमा तिमिल्सिनाको एकछत्र राज छ। लामो समयदेखि प्रहरी नायब महानिरीक्षक (डिआइजी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा तिमिल्सिनाकै कारण रोकिएको बताइएको छ।
अहिलेसम्म काठमाडौं ट्राफिक महाशाखादेखि बागमती प्रदेश प्रहरी निमित्तको भरमा छ। कप्र शाखा प्रमुख तिमिल्सिनाले आफ्ना मान्छेलाई भने सेटिङ मिलाएर काज सरुवा गरिरहेका छन्।
सेटिङमा काज सरुवा गर्दै आएका उनले अन्यको हकमा भने विभिन्न कारण देखाउँदै सरुवा रोक्दै आएका छन्। जसमा भदौ पहिलो सातामै हुनुपर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा अहिलेसम्म हुन सकेको छैन।