काठमाडौं: मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलले अनुचित लाभ लिएको भन्दै छानबिन जारी छ। उनीमाथि प्रहरी प्रधान कार्यालय नक्सालले विस्तृत छानविन गरिरहेको छ।
उनीमाथि मधेशमा तस्करीको लाइन खुलाएर अनुचित आर्थिक लेनदेन गरेको आरोप तथा उजुरी परेका छन्। सोही आधारमा अहिले उनलाई छानबिनमा तानेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार उनले घुमुवा प्रहरी र बिचौलियामार्फत लेनदेन गर्ने गरेका थिए। अहिले उनले लेनदेन गरेको भनिएका बिचौलिया पक्राउ परेका छन् भने उनका घुमुवाहरुलाई नक्साल तानिएको छ।
प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले केही समय अगाडि उनको नाम नलिई केही दिनअघि एक डिआइजी ‘छिट्टै फस्ने’ बताएका थिए।
डिआइजी पोखरेलले आफ्नो बैंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएपछि अन्यलाई सचेत गराउँदै आइजिपी कुँवरले सार्वजनिक रुपमै सुध्रिन अन्य प्रहरीलाई चेतावनी दिएका थिए।
डिआइजी पोखरेलको खातामा पैसा हाल्ने जनकपुरका बिचौलिया जितेन्द्र कर्णलाई प्रहरीले पक्राउ गरेको छ।
नेविसंघका कार्यकर्ता समेत रहेका कर्णले डिआइजीको नाममा तस्करहरुसँग पैसा उठाउने र बुझाउने गर्दथे। यद्यपी डिआइजी पोखरेलले भने आफ्नो खातामा आएको रकम घुसको नभई छोरालाई विदेश पठाउन सापट मागेको दाबी गरेका छन्। यस्तै सो रकम फिर्ता गरेको उनको भनाई छ।
उनै डिआईजीका घुमुवा भने जिम्मेवारीबाट हटाइएर हेडक्वाटर तानिएका छन्। उनीहरूले शंकास्पद आर्थिक कारोबार गरेको पाइएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै १० जना हेडक्वाटर नक्साल तानिएका हुन्।
स्रोतका अनुसार जिम्मेवारी खोसेर हेडक्वाटर तानिएकाहरु जवानदेखि सईसम्मका कर्मचारी छन्। छानबिनका लागि हेडक्वाटर तानिनेहरुमा धनुषाको सीमा प्रहरी चौकी दुवहीमा कार्यरत सई चन्द्रप्रसाद यादव, सप्तरीको मोहवा प्रहरी चौकीमा कार्यरत असई उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव छन्।
त्यसैगरी इलाका प्रहरी कार्यालय निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेशका सहायक हवल्दार मुकुन्द शर्मा, जिल्ला प्रहरी कार्यालय धनुषाका जवान शतेश लाल कायस्थ छन्।
त्यस्तै कोशी प्रदेश मातहत कार्यरत रहेका हवल्दार बृजेश मुखियालाई पनि हेडक्वाटर तानिएको छ। उनीहरु मध्ये केही सादा पोशाकमा रहेर काम गरेका प्रहरी छन्। उनीहरुमाथि अहिले प्रहरी हेडक्वाटरको उजुरी छानबिन शाखाले छानबिन गरिरहेको छ।
र, यो पनि: जवानदेखि सईसम्मका १० प्रहरी हेडक्वाटर तानिए, जिम्मेवारी खोसियो [नामसहित]
डिआईजी पोखरेलमाथि छानबिन, आईजीले भनेका थिए ‘फस्छन्’