धनगढी: धनगढीमा मेयर गोपाल हमालले लागू गरेको निर्णय प्रहरीले नटेरेको पाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको निर्णय नटेरेको हो।
हमालले धनगढीमा प्लास्टिकमाथि प्रतिबन्ध लगाएकोमा प्रहरीले भने प्लास्टिक प्रयोगमा ल्याएको पाइएको हो। धनगढीमा भोलि गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने नेपाल प्रहरीको पेट्रोल पम्पमा प्लास्टिक प्रयोग गरिएको हो।
धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको प्रहरी कल्याणकारी कोष मार्फत सञ्चालन गरिएको सो पेट्रोल पम्प प्लास्टिकबाट निर्मित पताङ्काले सजाइको छ। उता प्लास्टिकमाथिको प्रतिबन्धबारे प्रहरीले भने जानकारी नभएको जनाएको छ।
धनगढीका सार्वजनिकस्थल तथा पसलहरूबाट प्लास्टिक जफत गर्दै आएको मेयर हमालको नगर प्रहरी भने प्रहरीले नै प्लास्टिक प्रयोग गरेपछि मूकदर्शक बनेको छ।
गृहमन्त्री लेखकले भोलि (बिहिवार) दिउसो पेट्रोल पम्मको उद्घाटन गर्ने कार्यक्रम छ।