महेन्द्रनगर: गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा फेरि अर्को प्रहरी कार्यालयको उद्घाटन गरेका छन्। बुधबार बिहान भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालयको उद्घाटन गरेकोमा दिउँसो दोधाराचाँदनी नगरपालिका– ६ दोधारामा रहेको इलाका प्रहरी कार्यालयको उद्घाटन गरेका हुन्।
नेपाल प्रहरी प्रदेश र इप्रका दोधाराचाँदनी कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरी आधुनिक भवनबाट नागरिकले स्तरीय सेवा पाउनुपर्नेमा जोड दिए। उनले आधुनिकता र प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रकृतिका अपराध बढिरहेका बेला प्रहरीको पनि आधुनिकीकरण भइरहेको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले १७ असारमा एमालेसँग भएको सातबुँदे सहमति दुवै पार्टीले अक्षरशः पालना गर्ने प्रस्ट्याए।
नागरिकलाई सेवा दिने लक्ष्यका साथ नयाँ समीकरण बनेको बताउँदै मन्त्री लेखकले जनमुखी रूपमा संविधान संशोधन गरिने दाबी गरे। ‘अझ संविधानलाई समावेशी चरित्रको राम्रो बनाउने हाम्रो लक्ष्य हो,’ मन्त्री लेखकले भने, ‘यसमा कुनै राजनीतिक शंका–उपशंका गर्नुपर्दैन, यही विषय अघि सारेर राजनीति पनि गर्नुहुँदैन।’
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक इन्जिनियर चिरञ्जीवी महतोले प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको कार्यप्रगति प्रस्तुत गरेका थिए। प्रदेश प्रहरी कार्यालयको भवन आशिष कन्स्ट्रक्सन कम्पनीले १३ करोड २६ लाख ६५ हजार ३३६ रुपैयाँ र इलाका प्रहरी कार्यालय भवन चार करोड ५२ लाख ८९ हजार चार रुपैयाँमा साउद आलोक जेभीले निर्माण गरेका हुन्।